बिहारमा चुनावको मुखैमा जेडियूले गर्यो १६ नेतालाई पार्टीबाट निस्कासन
बिहार बिधानसभा निर्वाचनको मुखैमा जनता दल युनाइटेड (जेडियू)का १६ नेता पार्टीबाट निस्कासित भएका छन्।
पार्टीविरूद्ध गतिविधि गरेको आरोपमा मुख्यमन्त्रीसमेत रहेका अध्यक्ष नितिश कुमारले १६ जनालाई पार्टीबाट निस्कासन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
एनडिटिभीका अनुसार विधानसभाका दुई जना बहालवाला सदस्य र पूर्वमन्त्रीसहितका नेताहरूलाई जेडियूले पार्टीबाट निस्कासित गरेको हो।
उनीहरूलाई पार्टीमाथि षड्यन्त्र रचेको र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोप लगाइएको छ। जेडियूले यसअघि पनि पूर्वमन्त्री शैलेशकुमारसहित ११ जनालाई कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको थियो।
अहिले निस्कासित भएकाहरूमा बहालवाला विधानसभा सांसद नरेन्द्र निरज एलियस गोपाल मण्डल पनि छन्।
यसपालिको विधानसभा चुनावमा पार्टीले उम्मेदवार नबनाउने निश्चित भएपछि मण्डलले पटनास्थित मुख्यमन्त्री निवासमा धर्ना दिएका थिए। यद्यपि पार्टीले उनको स्थानमा आरजेडीबाट आएका बुलो मण्डललाई टिकट दिएको थियो। पाँचौंपटक विधानसभा सदस्य चुनाव लड्न पार्टीले नदिएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
थर्ड पोल 