भिडिओका आधारमा पक्राउ तीव्र, समातिएका केही व्यक्ति आपराधिक पृष्ठभूमिका
जेन-जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते भएका विध्वंशात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीले छानबिन तीव्र पारेको छ।
भदौ २३ गते गोली लागेर नयाँबानेश्वरमै १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित थुप्रै सरकारी संस्था, व्यावसायिक भवन र प्रहरी कार्यालयहरू तोडफोड र आगजनी गरेका थिए। केही प्रमुख राजनीतिक नेताहरूका निजी घरदेखि पार्टी कार्यालय, भाटभटेनी सुपरस्टोर, हिल्टन होटल, हायात होटल लगायतमा पनि लुटपाट, तोडफोड र आगजनी गरिएको थियो। तीन जना प्रहरीको हत्यासमेत भएको थियो।
प्रहरीले सिसिटिभी फुटेज र भिडिओका आधारमा यी सबै घटना संलग्नहरूलाई पक्राउ गर्दै छानबिन अघि बढाएको हो।
तिहार अघिबाट सुरू भएको छानबिन क्रममा अहिलेसम्म करिब २५० जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्ने सबभन्दा बढी काठमाडौंमा छन्। त्यस दिन सबभन्दा धेरै क्षति पनि काठमाडौंमै भएको थियो।
जिल्ला प्रहरी परिसरका सूचना अधिकारी तथा एसपी पवन भट्टराईका अनुसार काठमाडौंमा मंगलबारसम्म ११० जना पक्राउ परेका छन्। तीमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने ३२ जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको र ७२ जनालाई हाजिर जमानीमा छाडिएको छ।
थर्ड पोल 