मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएसँगै आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने सरकारी प्रयास अलपत्र भएको छ ।
शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित तीन हप्तादेखि आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने पहल भइरहँदा मन्त्री भट्टराईले हिजो पदबाट राजीनामा दिनुभएको हो ।
राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको असन्तुष्टिका कारण उहाँ पद छोड्न बाध्य भएको बुझिएको छ ।
भट्टराईले आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिसँग संवाद गरेर विद्यालय शिक्षा विधेयक पारित गर्नेसहित शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रस्ताव तयार पार्नुभएको थियो ।
प्रस्तावमा शिक्षकको मर्यादाक्रम कायम गर्ने, निजामती अस्पतालमा शिक्षकको उपचार गर्ने व्यवस्था मिलाउने, राहतलगायत अस्थायी शिक्षकको बिरामी बिदाको रकम अवकाशपछि दिने व्यवस्था गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक दिने, शिक्षकलाई निजामती कर्मचारी वा त्योसरह ग्रेड उपलब्ध गराउने र सामाजिक सुरक्षामा आबद्ध गर्नेलगायतका निर्णय मन्त्रिपरिषद्बाट गर्न सकिने विषय समेटिएको छ ।
थर्ड पोल 