मौसमविद्लाई प्रश्न– यो वर्ष ‘हिले दसैँ’ हुन्छ कि मनसुन बाहिरिसक्छ ?

मौसमविद्लाई प्रश्न– यो वर्ष ‘हिले दसैँ’ हुन्छ कि मनसुन बाहिरिसक्छ ?

यो वर्षको दसैँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । मनसुनी प्रणाली अझैसम्म पनि सक्रिय रहेकाले दसैँमा पानी पर्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरूको भनाइ छ । यद्यपि, मनसुन कमजोर हुने पूर्वानुमान छ ।  

सामान्यतया नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । अक्टोबर २ मा यो वर्ष दसैँका टीका (विजया दशमी) छ । 

“औसत मितिअनुसार अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ । यो वर्ष विजया दशमी पनि अक्टोबर २ मा छ । यो नेपालबाट मनसुन बाहिरिने औसत मिति हो,” जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “तर, यही दिन नै मनसुनी प्रणाली बाहिरिहन्छ भन्ने छैन । केही दिन अगाडि वा पछाडि हुन्छ ।” 

यो वर्ष मनसुनी प्रणाली औसत मितिभन्दा छिटो वा ढिलो बाहिरिन्छ भन्ने अहिले निश्चित नरहेको उनी बताउँछिन् । 

“आजबाट पश्चिम नेपालमा वर्षा केही कम हुँदै छ । तर, पूर्वी नेपालमा भने अहिलेको प्रणाली केही दिन यथावत रहनेछ,” उनी भन्छिन्, “तर, पूर्वी नेपालमा वर्षाको क्रम बढ्ने होइन, अहिलेको जस्तै यही अनुपातमा वर्षा र बदली हुनेछ ।” 

केही दिनपछि पुनः मनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान छ । त्यो समय दसैँ सुरु भइसकेको हुनेछ । 

“केही दिनपछि पुनः मनसुन सक्रिय हुनेछ,” मौसमविद् महर्जन भन्छिन्, “त्यो प्रणाली केही दिन सक्रिय रहँदा वर्षा हुनेछ ।” वर्षा भए पनि लगातार झरी भने नपर्ने उनी प्रष्ट पार्छिन् । 

विजय दशमी (असोज १६ गते) तिर मनसुनी प्रणाली बाहिरिसक्छ वा नबाहिरिए वर्षा कुन मात्रामा हुन्छ/हुँदैन भनेर अहिले नै भन्न नसकिने उनको भनाइ छ । तर, पानी परे पनि झरी नै पर्ने सम्भावना भने नरहेको उनी प्रष्ट पार्छिन् । 

विजया दशमी आउन अझै १०/१२ दिन बाँकी रहेको तर मौसमी प्रणाली तत्कालै परिवर्तन हुने सम्भावना रहने भएकाले अहिले नै निश्चित गरेर यस्तै नै हुन्छ भनेर भन्न नसकिने उनी बताउँछिन् । “त्यसैले हामी दशमीको तीन/चार दिन अगाडि दसैँ विशेष मौसम बुलेटिन जारी गर्नेछौँ,” उनी भन्छिन् ।  

जलवायुविज्ञ धर्मराज उप्रेती मनसुनी प्रणाली नेपालबाट बाहिरिने अनुकूल वातावरण विकास हुँदै गएको बताउँछन् । उनका अनुसार भारतका विभिन्न भागबाट मनसुन बाहिरिन थालेकाले यो क्रम नेपालको सुदूरपश्चिम प्रदेशमा अबको चार दिनमा आइसक्ने सम्भावना उच्च छ ।