राति घरबाटै हराएकी ३ महिनाकी नाबालिका जंगलमा फेला

राति घरबाटै हराएकी ३ महिनाकी नाबालिका जंगलमा फेला

घरबाटै एक समूहले उठाएर बेपत्ता पारिएकी ३ महिनाकी बालिकालाई प्रहरीले शुक्रबार बिहान फेला पारेको छ।

दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीका स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढासहित एक जना २० वर्षीया महिलालाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले बताए।  

स्थानीय चामुण्डाविन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल क्षेत्रमा बच्चा बोकेर भाग्दै गरेकी ती महिलालाई नियन्त्रणमा लिइएको भए पनि थप विवरण भने प्रहरीले अनुसन्धानपछि मात्रै सार्वजनिक गर्ने बताएको छ। 

बिहीबार राति ९ बजेतिर घरबाटै श्रीया हराएकी थिइन्। दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार घरबाटै नाबालिका हराएको सूचनापछि प्रहरी खोजी कार्यमा लागेको थियो।

शुक्रबार बिहान मात्रै बालिकासहित एक महिलालाई नियन्त्रणमा लिइएको उनले बताए।

‘पक्राउपछि महिलालाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने  छ,’ उनले भने, ‘बच्चाको अवस्था सामान्य रहेको भन्ने छ। थप कुरा अनुसन्धानपछि भनौंला।’

इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख प्रहरी निरीक्षक श्याम अर्यालले शुक्रबार बिहान ९ बजेतिर चामुण्डाविन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल क्षेत्रमा बच्चा बोकेर हिँडिरहेको अवस्थामा १८ वर्षीया शर्मिला विष्टलाई फेला पारी नियन्त्रणमा लिइएको  बताए।