रूपन्देही-३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने एमालेको तयारी

रूपन्देही-३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने एमालेको तयारी

नेकपा (एमाले)ले प्रतिनिधि सभा अन्तर्गत रूपन्देही-३ को उपनिर्वाचनमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

सोमबार बालुवाटार पुगेर भट्टराईले त्यसबारेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेका छन्।

भट्टराई पार्टीको पोलिटब्युरो सदस्य र राष्ट्रिय सभामा यसअघिका दल नेता पनि हुन्।

प्रधानमन्त्री ओलीसँगको भेटमा उपनिर्वाचन र पार्टीको तयारीका विषयमा छलफल भएको भट्टराईले सेतोपाटीलाई बताए।

'प्रधानमन्त्री र मेरो भेट अस्ति भएको हो। चुनाव जित्नुपर्छ। जित्ने तयारीका साथ पार्टी लागेको छ भन्नुभयो। उहाँले पार्टीले जित्ने योजना बनाएको छ भन्नुभयो,' भट्टराईले भने।

निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा कात्तिकमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।

रूपन्देही-३ मा राप्रपा सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ। दीपक  मनाङे पदमुक्त भएपछि मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य पद पनि रिक्त छ।

निर्वाचन आयोगको सुझावअनुसार रिक्त पदका लागि सरकाले कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ।