लुम्बिनी बौद्ध विश्वविद्यालयको चिनियाँ भाषा परीक्षामा भारतीय विद्यार्थीको आकर्षण
लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा परीक्षण केन्द्र स्थापना गरिएको छ।
चिनियाँ भाषा अध्ययन गर्न चाहने नेपाली तथा अन्य विदेशी विद्यार्थीहरूको समेत चाहनालाई मध्यनजर गर्दै गत वर्षदेखि चिनियाँ भाषा परीक्षण केन्द्र स्थापना गरिएको हो। सोही केन्द्रले भाषा परीक्षण परीक्षा लिँदै आएको छ।
विश्वविद्यालयको देवदह शिक्षा विकास परियोजना अन्तर्गत देवदहमा हुँदै आएको चिनियाँ भाषा परीक्षण परीक्षामा भारतीय विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ।
परियोजनाका निर्देशक डा.कुमार खड्काका अनुसार चिनियाँ भाषा परीक्षण परीक्षामा सहभागी करिब ५० प्रतिशत विद्यार्थी भारतीय रहने गरेका छन्। खड्काले गत फागुनमा एचएसके परीक्षामा सहभागिताका लागि आवेदन दिएका ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको जानकारी दिए।
गत चैत ३० गते भएको एचएसके परीक्षामा ४७ जना विद्यार्थी सहभागी भएका थिए। चैत महिनाको परीक्षामा पनि आधाभन्दा धेरै भारतीय विद्यार्थी सहभागी भएका थिए।
भाषा परीक्षण केन्द्रमा फ्रेबुअरी महिनाबाहेक हरेक महिना एचएसके भाषा परीक्षा सञ्चालन हुने गर्छ।
परियोजना निर्देशक खड्काका अनुसार एचएसके भनेको अंग्रेजी भाषाको आइइएलटिएस र टोफेल जस्तै चिनियाँ भाषाको एक प्रकारको कोर्ष हो। जुन लेबल १ देखि ६ सम्मका परीक्षण सबै लुम्बिनी बौद्ध विश्वविद्यालयै लिन थालिएको छ।
बौद्ध विश्वविद्यालयमै चिनियाँ भाषा परीक्षण परीक्षा हुन थालेपछि भारतको गोवा, केरला, गुजरात लगायतका क्षेत्रबाट विद्यार्थीहरू लुम्बिनी आउन थालेका हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा परीक्षण परीक्षा सुरू भएपछि नेपाल तथा भारतका विद्यार्थीहरूलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा. सागर न्यौपानेले बताए।
थर्ड पोल 