वन अधिकृतविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा, परिवारको नाममा रहेको सम्पत्ति जफत गर्न माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले इलाममा डिभिजनल वन अधिकृत पदमा कार्यरत रही हाल डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ विगो माग गरिएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार श्रेष्ठविरुद्ध पदीय अख्तियारीको दुरूपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा श्रेष्ठले नियुक्ति मिति २६ असार २०४८ सालदेखि सम्पत्ति विवरण फारम भरी बुझाएको मिति १६ फागुन २०८० गतेसम्म निज र उनको परिवारका सदस्यहरूले २ करोड १६ लाख २५ हजार ५५७ रुपैयाँ आर्जन गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ९५ रुपैयाँ खर्च गरेको देखिन आएको छ।
थर्ड पोल 