विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि सांसदहरु बोल्ने काम सकियो,संसद्का दुवै सदनको बैठक आज पनि

विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि सांसदहरु बोल्ने काम सकियो,संसद्का दुवै सदनको बैठक आज पनि

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम हिजोदेखि सकिएको हो ।

यसैबीच सङ्घीय संसद्को दुवै सदनको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ ।

यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ