व्यापारीलाई धम्काएर ५ लाख असुलेको खुलेपछि पक्राउ परे तीन प्रहरीसहित पाँच जना

व्यापारीलाई धम्काएर ५ लाख असुलेको खुलेपछि पक्राउ परे तीन प्रहरीसहित पाँच जना

व्यापारीलाई धक्काएर पाँच लाख असुलेको खुलेपछि तीन प्रहरीसहित पाँच जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका दुई सहायक हवल्दार, एक जना सशस्त्र प्रहरीका जवान रहेको खुलेको छ।

पक्राउ पर्ने अरू दुई जनामा आफूलाई पत्रकार भनेर चिनाउने एक व्यवसायी र अर्को भ्रष्टाचार विरोधी अभियन्ता रहेको प्रहरीले बताएको छ।

बाँकेस्थित इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार कोहलपुर नगरपालिका वडा ११ पुरानो बसपार्क नजिकको थ्रिस्टार मोबाइल पसलका  सञ्चालक लक्ष्मण कुँवरको जाहेरीका आधारमा पाँचै जना पक्राउ परेका हुन्।

जेठ २९ गते पसल सञ्चालक कुँवरले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिएका थिए । 

जेठ २८ गते दिउँसो पाँच जना मानिसहरू आएर आफूलाई राजस्वको कर्मचारी बताएको र पाँच लाख नदिए फसाइदिने भन्दै डर–धम्की दिएको उनले जाहेरीमा उल्लेख गरेका छन्।

फसाइदिने भयपछि आफूले पाँच लाख रूपैयाँ उनीहरूलाई दिएको समेत उनले जाहेरीमा बताएका छन्।

कुँवरको निवेदनपछि सोही दिन लुम्बिनी प्रदेश प्रहरीबाट  लागु औषध नियन्त्रणका लागि खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कुर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, आफूलाई पत्रकारको रूपमा चिनाउने कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका लगोविन्द भण्डारी र पत्रकार तथा भ्रष्टचार विरोधी अभियान्ता बताउने सूर्यप्रसाद रिजाललाई पक्राउ गरिएको डिएसपी खनालले बताइन्।