वीरगञ्ज महानगरपालिकाको बजेटलाई पुनर्निर्माणमा केन्द्रित गरिने
वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट संशोधन गरी पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको छ।
शनिबार बसेको विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनर्निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो।
विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले बजेट संशोधनको प्रस्ताव पेस गरेका थिए।
महानगरको १७ औं नगर परिषदले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो। विकास बजेटलाई संशोधन गरी पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए। कुन कुन शीर्षकको बजेटलाई स्थानान्तरण गर्ने भन्ने बारेमा भने निर्णय नभएको उनले बताए।
'नगरस्तरीय, वडास्तरीय कुन कुन शीर्षकको बजेट स्थानान्तरण गर्ने तय भएको छैन, त्यसको अधिकार नगर प्रमुखलाई दिइएको छ, स्थानान्तरण गर्ने योजना छनोट भइसकेपछि कार्यपालिकाबाट पास गर्नुपर्ने हुन्छ,' उनले भने।
त्यसैगरी विशेष अधिवेशनले यसअघि बसेको कार्यपालिका बैठकको निर्णयलाई अनुमोदन गरेको छ।
थर्ड पोल 