शान्ता रानी परियार, एलिना चौहान, लगायतले एमालेको युथ सेलिब्रेसनमा प्रस्तुति दिने
नेकपा (एमाले) ले आजको दिन (वैशाख ११) लाई जनताले जितेको दिन भन्दै युथ सेलिब्रेसन गर्दैछ।
पछिल्लो समय पार्टी कमिटीमा क्लस्टर नै छुट्टयाएर युवा सहभागिता बढाउँदै आएको एमालेले बिहीबार एक लाख युवा भृकुटीमण्डप उतार्ने दाबी गरेको छ।
आजको युथ सेलिब्रेसनमा ४० वर्षमुनिका युवा नै वक्ता राखिने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए। थेवे कार्यक्रमका संयोजक पनि हुन्।
एमालेले आजको दिन युथ सेलिब्रेसनका रूपमा मनाउन झन्डै एक महिनादेखि तयारी थालेको थियो। महासचिव शंकर पोखरेलले आफै यसको संयोजन गरेका थिए। यहाँसम्मकी मञ्चमा बोल्ने वक्ताहरूको बुधबार रिहर्सलसमेत महासचिव पोखरेल आफैले गरेका थिए।
भृकुटीमण्डपमा युवालाई आकर्षित गर्न एमालेले विभिन्न कलाकार तथा सांगीतिक ब्यान्डहरूलाई समेत मञ्चमा प्रस्तुत गर्ने भएको छ।
एमालेले आज शान्ता रानी परियार, एलिना चौहान, पूर्ण राई एण्ड दाजुभाइहरू मञ्चमा उतार्न लागेको हो।
त्यस्तै युवा पुस्तामाझ निकै रुचाइएका वाङदेन शेर्पा एन्ड द काउब्वाइज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा समेतले बिहीबार प्रस्तुति दिने कार्यक्रममा संयोजक क्षितिज थेवेले जानकारी दिए।
थर्ड पोल 