शिविरमा चीत्कार छ, काठमाडौंमा मौनता

शिविरमा चीत्कार छ, काठमाडौंमा मौनता

‘यहाँ बाँच्नै गाह्रो छ, दाइ । स्कूल, हस्पिटल छैन । बच्चा बिरामी भए के गर्ने ? हाम्रा लागि बोलिदिने कोही छैन !’

यो एक जना भूटानी शरणार्थीको सन्देश हो, जुन उनले केही दिनअघि बेलडाँगीबाट मलाई पठाएकी थिइन् । उनका शब्दमा व्यक्तिगत पीडा मात्रै छैन, यो वर्षौंदेखि लम्बिएको राजनीतिक र मानवीय समस्याको गहिरो चित्र हो ।

सन् २०२० सम्म पनि शरणार्थी शिविरमा संयुक्त राष्ट्रसंघको यूएनएचसीआर शिविरमा खटिएको थियो । सन् २०१८ सम्म खाद्यान्न, स्वास्थ्य लगायत विषयमा समेत सरसहयोग भइरहन्थ्यो । तर, अहिले शिविरको अवस्था निकै दु:खलाग्दो छ ।

करिब चार दशकअघि निर्वासित भएका हजारौं भूटानी नागरिकमध्ये अझै करिब ६ हजार ५०० जना आज पनि झापा र मोरङका शिविरहरूमा बाँकी छन् । उनीहरूको जीवन अहिले न राज्यले चिनेको छ, न अन्तर्राष्ट्रिय संस्थाहरूले सम्झिएको छ ।