संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय सुनाउन सक्ने

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चले आज निर्णय सुनाउन सक्ने

सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीबारे आज निर्णय सुनाउने मिति तोकेको छ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले बुधबार निर्णय सुनाउने दिन तोकेको हो। यसअघि जेठ २८ गते उक्त इजलास दिनभरि छलफलमा बसेको थियो। तर छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति असार १८ गतेका लागि तोकेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्ति गरेकोविरूद्ध रिट दायर भएको थियो।

ओली सरकारले संवैधानिक परिषदको कानुन दुई पटक अध्यादेशमार्फत् संशोधन गरेर दुवै पटक नियुक्ति गरेको थियो।

ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर त्यसैबमोजिम पहिलो पटक २०७७ मंसिर ३० सिफारिस गरी माघ २१ गते ३२ जना नियुक्त गरेको थियो।

दोस्रो पटक २०७८ वैशाखमा सिफारिस गरी असार १० मा २० गरी जम्मा ५२ संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गरिएको थियो।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधान न्यायाधीश, प्रमुख विपक्षी दलका नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख गरी ६ सदस्य रहन्छन्।

यी सदस्य उपस्थित भएर सकेसम्म सहमति नभए बहुमतको निर्णयबाट संवैधानिक पदाधिकारी नियुक्ति सिफारिस गर्नुपर्ने कानुन अध्यादेशमार्फत् संशोधन गरी उपस्थित भएकामा बहुमतले निर्णय गर्ने बनाइएको थियो।