आज प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद बैठकमा सम्बोधन गर्ने भएका छन्। 

शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ। अधिवेशन आरम्भको पहिलो दिनको बैठकलाई सामान्यतया प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्छन्।  

शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले समग्र देशको परिस्थिति र संसदको जिम्मेवारीबारे बोल्नेछन्। 

यसपालिको बजेट अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको छ।

यही अधिवेशनबाट बजेट मात्रै नभई विद्यालय शिक्षा विधेयक टुंग्याउने पनि सरकारको उद्देश्य छ।

त्यसकारण शनिबार र सार्वजनिक बिदा बाहेक संसद बैठक निरन्तर चल्ने तय भइसकेको छ। 

शुक्रबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त विकास परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।