गए रातिदेखि नेपालगञ्जमा विद्युत अवरूद्ध
हावाहुरीका कारण बाँकेको नेपालगञ्जमा विद्युत अवरूद्ध भएको छ।
बुधबार राति १० बजेदेखि चलेको हावाहुरीका कारण बिजुली अवरूद्ध भएको हो। यो समाचार तयार पार्दासम्म बिजुली आएको छैन।
हावाहुरीका कारण ३३ केभी प्रशारण लाइनका पोल र टावरमा क्षति पुगेको छ। त्यसै कारण बिजुली अवरूद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख राजिव सिंहले बताए।
आसपासका घरका जस्तापाता उडाएर ल्याएर ३३ केभी प्रशारण लाइन र पोलमा क्षति पुगेको पनि उनले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार डडुवास्थित वनकट्टी प्रहरी चौकीकै छानो उडाएको छ। अहिले प्रहरीले बाहिरै बसेर सेवा दिइरहेको छ।
‘त्यहाँको प्रहरी चौकीको सबै छाना उडाएपछि प्रहरी बाहिरै बसेर सेवा दिइरहेका छन्,’ उनले भने, ‘एउटा कोठा भने पक्की रहेका कारण त्यसैमा उनीहरूले बन्दोबस्तीका सामग्री राखेका छन्।’
कोहलपुर ग्रिडका चार वटा सर्किटमध्ये दुई वटा सर्किट सञ्चालनमा आइसकेको र थप दुई वटा सर्किटमा पुगेको क्षति मर्मतका लागि चार वटा गाडीमा कर्मचारी खटाएको सिंहले बताए।
केही समयमा नेपालगञ्ज बजारमा विद्युत नियमित हुने उनले बताए।
थर्ड पोल 