बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ।

उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन्।

 यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो।

'यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्,' डिएसपी पातलीले भने।

प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा ३ लाख ५९ हजार ३५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो।

अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए।

चैत महिनामा दर्ता भएका १५८ मुद्दातर्फ एक सय ९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।