मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु
1. मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु
मुस्ताङ, मुस्ताङमा लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ-४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका-२ मा लेक लागेर मृत्यु भएको उनले बताए।
लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार २०८१ वैशाखमा दुई, जेठमा एक, असोजमा दुई, कात्तिकमा पाँच र पुसमा एक पर्यटकको लेक लागेर मृत्यु भएको हो।लेक लागेर मृत्यु हुनेमा ६३ वर्षीय अमेरिकी नागरिकसमेत रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।
विसं २०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ११ विदेशी तथा ६ नेपाली नागरिक रहेका प्रहरी निरीक्षक अधिकारीले बताए।
थर्ड पोल 