राप्रपाले भन्यो– हामी सीमित नेता मात्रै सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्छौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार सीमित नेता सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका हुन्।
‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले भनेका छन्।
आज भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल् यो–यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरूद्धको प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको उनले बताएका छन्।
‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं,’ अध्यक्ष लिङ्देनले भनेका छन्।
निषेधित क्षेत्र तोड्न राप्रपाले आज नेता–कार्यकर्तालाई विजुली बजार पुलमा भेला हुन भनेको छ। त्यहाँ जम्मा भएका उनीहरूले आज निषेधित क्षेत्रतर्फ अघि बढ्ने बताएका छ्न। सरकारले बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
यसैबीच राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ।
थर्ड पोल 