वडाध्यक्षहरू भन्छन्– मेयर बालेन शाहले जबाफ दिने कार्यपालिका बैठकमा हो, फेसबुकमा होइन
मेयर बालेन शाहको निर्देशनविपरीत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराएका वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाएर काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत विषयमा प्रश्न उठाउन १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठक माग गरेका हुन्।
यसका लागि संयुक्त हस्ताक्षर गर्दै मेयरलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूले बताए।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ। महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। मेयर शाहले भने पुसदेखि बैठक डाकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृतको विवाद सुरू भएदेखि नै कार्यपालिका बैठक नडाकिनुले मेयरमाथि शंका उब्जिएको वडाध्यक्षहरू बताउँछन्।
वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार मेयरले कार्यपालिकालाई जानकारी नै नदिई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही गरेका थिए। महानगरका कर्मचारीको तलब रोकिने र अन्य आर्थिक गतिविधि ठप्प हुने गरी कुन कानुनअन्तर्गत कारबाही गरिएको हो भन्नेबारे मेयरले सबैलाई जानकारी दिनुपर्ने उनी बताउँछन्।
'गुरागाईंले पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पासमा भ्रष्टाचार गरेको भनेर मेयरले सार्वजनिक रूपमा भन्नुभयो। त्यसपछि उहाँलाई कार्यालय प्रवेश गर्नै रोक लगाइदिनुभयो,' उनले भने, 'मेयरले फेसबुक स्टाटस लेखेर आरोप लगाउँदैमा कसैले भ्रष्टाचार गरेको कसरी ठहरिन्छ? त्यसका लागि त कानुनसम्मत् ढंगले प्रक्रिया अघि बढाउनुपर्छ होला नि! भ्रष्टाचार गरेको हो कि होइन भनेर सम्बन्धित निकायले छानबिन गर्नुपर्छ होला नि! यस्ता कुनै पनि प्रक्रिया पूरा नगरी उहाँले आफ्नो एकल निर्णयमा महानगरलाई तीन महिनासम्म अनिर्णयको बन्दी बनाउनुभयो।'
मेयरको हठका कारण महानगरले भोग्नुपरेको समस्याबारे प्रश्न उठाउन आफूहरूले कार्यपालिका बैठक माग गरेको वडाध्यक्ष संगतले बताए।
थर्ड पोल 