निरन्तर घट्दै कर्जाको ब्याजदर
काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदरका साथसाथै कर्जाको ब्याजदर पनि घटाउँदै लगेका छन् । अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । २०७९ फागुन यतादेखि कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेको छ । जसले गर्दा आधार घट्दा कर्जाको ब्याजदर समेत तल झरेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकहरुले प्रवाह गर्ने कर्जाको भारित औसत ब्याजदरमा ८ प्रतिशत नजिक झरेको छ । चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.२२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको चैतमा कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत रहेको थियो ।
एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर २.३३ प्रतिशत विन्दुले घटेको हो । यस्तै, चैत महिनामा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा विकास बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो । औसत आधार दर घटेकाले बैंकहरुको कर्जाको ब्याजदर निकै सस्तिएको हो ।
अहिले वाणिज्य बैंकहरुको औसत आधार दर घटेर ६.२९ प्रतिशतमा झरेको छ । बैंकहरुमा अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । यस्तै, २०८१ चैतमा विकास बैंकहरुको औसत आधार दर ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ ।
२०८० को चैतमा विकास बैंकहरुको औसत आधार दर १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको थियो । २०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले प्रवाह गर्ने सबै प्रकारका कर्जाको ब्याजदर एकल अंकमा झरेको छ ।
थर्ड पोल 