तेस्रो त्रैमासमा प्रभु र मेट लाइफ इन्स्योरेन्सको नाफा कति ?
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मप्रभु इन्स्योरेन्स कम्पनीले २० करोड २ लाख रुपैयाँ मात्र नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको छ ।
गत वर्षको यसैअवधिमा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा प्रभु इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन २.५७ प्रतिशतले बढेर ४७ करोड ६३ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन बढेपनि लगानी तथा कर्जाबाट हुने आम्दानी घट्दा खुद नाफा प्रभावित भएको हो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी १४.१२ प्रतिशतले घटेर ९ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष लगानी तथा कर्जाबाट ११ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३६ करोड, महाविपत्ती कोषमा ११ करोड ५३ लाख र रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ सञ्चित छ ।
यसैगरी, मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३४ करोड ५१ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्म २७ करोड ४ लाख रूपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्ष भने २७.६१ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष मेट लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष २५ अर्ब ७ करोड रूपैयाँ रहेकोमा यस वर्ष १३.२६ प्रतिशतले वृद्धि भएर २८ अर्ब ३९ करोड रूपैयाँभन्दा माथि पुगेको छ । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३ अर्ब ९७ करोड रूपैयाँबाट ७.२७ प्रतिशतले वृद्धि भएर ४ अर्ब २६ करोड रूपैयाँ नाघेको छ।
कम्पनीको महाविपत्ति कोषमा ५६ करोड २३ लाख रूपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५२ करोड रूपैयाँ सञ्चिति रहेको छ।
थर्ड पोल 