अन्नपूर्ण संरक्षण क्षेत्रमा आठ महिनामा भित्रिए एक लाख भन्दा बढी पर्यटक 

अन्नपूर्ण संरक्षण क्षेत्रमा आठ महिनामा भित्रिए एक लाख भन्दा बढी पर्यटक 

काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सबैभन्दा कम माघमा जम्मा नौ हजार ३४ पर्यटक ‘एक्याप’ भित्रिएका थिए ।

फागुनयता पर्यटक आवागमनमा वृद्धि भएको आयोजना प्रमुख डा कडरियाले बताए । चैत–वैशाख पदयात्राका लागि उत्तम मानिने हुँदा यो याममा पर्यटकको सङ्ख्या थप बढ्ने उनले बताए । गत वर्ष चैतमा वर्षकै सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमफिर गरेका थिए । वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्रीको सङ्ख्या न्यून हुने गरेको छ । पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखलाई उत्तम समय मानिने आयोजना प्रमुख डा कडरियाले बताए ।

पछिल्लो तीन वर्षको आँकडाअनुसार बर्सेनि उक्त क्षेत्रमा पर्यटकको आवागमन बढेको देखिन्छ । आव २०७९र८० मा एक लाख ७२ हजार १०८ पर्यटक ‘एक्याप’ भित्रिएकामा आव २०८०र८१ मा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रका भ्रमण गरेका थिए । आव सकिन चार महिना बाँकी रहेकाले चालु आवमा पनि पर्यटक सङ्ख्या गत वर्षको तुलनामा वृद्धि हुने अनुमान आयोजना कार्यालयको छ ।

गत वर्षको तुलनामा चालु आवका हरेक महिनामा पर्यटक सङ्ख्या बढेको छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले पदयात्रा रुचाउने गरेका छन् ।

‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङ, मनाङलगायतका ठाउँ छिर्ने आन्तरिक पर्यटकको सङ्ख्या एकिन गर्न सकिदैन । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

हिमश्रङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।