आज जानकी नवमी: साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा
काठमाडौं । आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदि प्रकट भएको जनविश्वास रहेको छ । रामायणकालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।
जानकी नवमीको अवसमा आज जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव, जानकी डोला यात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।
थर्ड पोल 