नेपालको हिमाली क्षेत्रमा पहिलोपटक देखिएको नयाँ प्रकारको जोखिम

नेपालको हिमाली क्षेत्रमा पहिलोपटक देखिएको नयाँ प्रकारको जोखिम

गत जेठ १ गते उत्तरी हुम्लाको तिल्जुङ खोलामा डरलाग्दो भेलबाढी आयो।

रातिपख, सबै सुत्ने बेला गाँवै गड्गडाउँदै आएको भेलबाढी मानिसहरूले प्रत्यक्ष देख्न त पाएनन्, तर त्यसको क्षति उनीहरूले अनुभूत गरे।

उत्तरी हुम्लाको तिलगाउँमा २०–२२ घरधुरी मात्र बस्छन्। हिउँ पर्ने याममा तल झर्ने र हिउँ पग्लिएपछि थातथलोतिर उक्लने त्यहाँका मानिसको चलन हो। अन्यत्र पनि यस्तै चलन हुन्छ।

हिउँ पग्लिने सिजन सुरू भइसके पनि बाढी गएको दिन त्यस गाउँमा ३३ जना मात्र थिए। उनीहरूले भागेर ज्यान जोगाए।

भेलबाढीले दुईवटा घर, केही सिँचाइ कुलो, १५ किलोवाट क्षमताको स्थानीय जलविद्युत योजना र बाटाघाटामा क्षति पुर्‍यायो। मानिसहरू अहिले बस्तीबाट विस्थापित भएर सुरक्षित ठाउँमा स्थानान्तरित भएका छन्।

न चरक्क घाम चर्किएको थियो, न झमझम झरी परेको थियो। बस्ती नै लछार्ने गरी कहाँबाट भेलबाढी आयो भनेर स्थानीय आश्चर्यचकित परे।

त्यसैको भोलिपल्ट पाँच जनाको एक समूह बाढीको कारण खोज्न हिमालतिर उक्लियो। आठ घन्टा पैदल हिँडेपछि उनीहरू तिल्जुङ खोलाको शिरक्षेत्र पुगेका थिए।

उनीहरूले त्यहाँ स–साना दुईवटा हिमताल फेला पारे।

उनीहरूले पहिले हिमताल भत्किएको अनुमान गरेका थिए। त्यहाँ पुग्दा थाहा भयो, ताल फुटेको थिएन। तैपनि तालमा चराले पिउने पानी पनि थिएन। सबै चुहिएर निख्रिएको थियो।

त्यसअघि त्यस क्षेत्रमा स्थानीयहरू बिरलै पुग्थे। मानव बस्तीभन्दा कोशौं टाढा र निर्जन इलाकामा हिमताल भए–नभएको पनि स्थानीयहरू अनभिज्ञ थिए।

बाढी गएको भोलिपल्टै पुगेका उनीहरूले ताललाई जुन रूपमा देखे, त्यसले झनै आश्चर्य बढाइदियो। वास्तवमा हिमताल विचलनको नयाँ प्रकृतिको घटना उनीहरूले देखेका थिए।