नुवाकोटमा बाढी घरमा पस्योः श्रीमती बेपत्ता, श्रीमान् घाइते, डोल्पाको रिवा गाउँमा खहरे खोलाको लेदोले १२ घरमा क्षति

नुवाकोटमा बाढी घरमा पस्योः श्रीमती बेपत्ता, श्रीमान् घाइते, डोल्पाको रिवा गाउँमा खहरे खोलाको लेदोले १२ घरमा क्षति

काठमाडौं । नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् ।

बाढीमा परेर उनको श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोट प्रहरीले जानकारी दिएको छ । उनको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।  लेदो र ग्रेगानसहितको बाढी घरमा पसेपछि भाग्न खोज्दा बिमलालाई बगाएको हो । हाल उनको खोजी भइरहेको छ ।

त्यस्तै  डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्‍याएको छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो । बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र रिवा गाउँमा खटिएको छ । उद्धार टोलीले स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र पुनर्स्थापनामा आवश्यक सहयोग गरिरहेको छ ।