राजावादी आन्दोलनमा जलाइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, थाल्यो उत्पादन
काठमाडौं । गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाले ज्यान नै गुमाएको थिए भने कयौँ मानिसहरू घाइते भएका थिए । साथै सार्वजनिक तथा निजी संरचनाहरू तोडफोड र आगजनी गरिएको थियो ।
त्यो दिनको घटनामा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि सुरक्षित रहन सकेन। कम्पनीको प्रशासनिक भवन तोडफोड भएको थियो भने उत्पादन तथा प्रयोगशाला भवनमा आगो लगाएर पूर्ण रुपमा प्रयोगविहीन नै बनाइएको थियो।
उक्त कम्पनीले खेती, प्रशोधन, उत्पादन र बजारीकरणको काम गर्ने भएकाले खेती र प्रशोधन कम्पनीको बाहिरी शाखाहरूले गर्ने र उत्पादित बस्तुको बजारीकरण देखिका कामहरू केन्द्रीय कार्यालयले गर्ने हुँदा सो घटनाको लगभग एक महिना सबै जसो काम ठप्प भएको थियो ।
अब कम्पनी सञ्चालन अहिले होला भन्ने निराशाकाबीच घटना भएको एक महिनामै कम्पनीले उत्पादन थालेको छ । यस कार्यका लागि वन तथा वातवरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले प्रशासनिक भवनमा शिसा राख्न सहयोग गरेको र उत्पादन भवनको कम क्षति भएको कोठा सफा गरी त्यहीँबाट तत्काल अस्थायी रूपमा उत्पादन सुरु गरेको हो।
आगलागी हुनु पहिले मेशिनको प्रयोग गरी उत्पादन गरिने भए पनि मेशिन पूर्ण रुपमा जलेका कारण अहिले सम्पूर्ण काम कर्मचारीले नै गर्नु परेको छ। जसका कारण कम्पनी पूर्ण क्षमतामा चल्न सकेको छैन।
थर्ड पोल 