विहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त
काठमाडौं । शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन जारी छ । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । गत चैत्र २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान नौं बजे नै मण्डलामा जम्मा भएका हुन् ।
शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार प्रणाली अनुरुप गर्नुपर्ने लगायत माग छन् ।
आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ । शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन् ।
थर्ड पोल 