शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै
काठमाण्डौ – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ ।
आज पनि बिहानैदेखि छलफल भएको समिति सचिव दशरथ धमलाले जानकारी दिनुभयो । विधेयकमाथि दफाबार छलफल गर्न समितिले निश्चित समय तोकेर चैत ८ गते ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
सबै दफामा सहमति जुटाउन ३५ दिनको समय पाएको उपसमितिसँग अब १४ दिन बाँकी छ । विधेयकमा रहेको १६३ दफामध्ये अहिलेसम्म एक सय दफामा छलफल भएको छ । तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा छलफल भइरहेको छ । छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका र महत्त्वपूर्ण पनि रहेकाले धेरै छलफल गर्नुपर्ने र विधेयक पारित हुन समय लाग्ने शिक्षा समितिका सचिव दशरथ धमलाले बताउनुभयो ।
सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । यही अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । जतिसक्दो छिटो टुङ्ग्याउने भन्दै विधेयकमाथि निरन्तर छलफल भइरहेको समितिको भनाइ छ ।
थर्ड पोल 