सुख्खा वित्यो हिउँद, डढेलो र प्रदूषणबाट वर्षाले दिलाएको राहत
काठमाडौँ । विगतका केही हिउँद सुख्खा नै वित्यो । औसतको १५ प्रतिशत पनि पानी नपरेकाले हिउँदे बाली सप्रिन पाएनन्। वायुमण्डलको सतहमा धुवाँधूलो थुप्रियो। प्रदूषण विकराल बन्यो। शीत याममै डढेलोको समस्या देखियो।
प्रि–मनसुन भने तुलनात्मक रूपमा सुखद् देखिएको छ। फागुन १७ गतेदेखि जेठ १७ गतेसम्मको अवधिलाई नै हामी प्रि–मनसुन भन्छौं। पश्चिमी हावाले पानी पार्ने प्रणाली ल्याउने, दिउँसो चरक्क घाम चर्कने र साँझ गड्याङगुडुङ गर्दै एक–दुई झर पानीसमेत परिहाल्ने हुनाले खेतबारीमा बाली लगाउने मौसमका रूपमा पनि यसलाई बुझिन्छ। यो याममा अरब सागर तथा बंगालको खाडीबाट कहिलेकाहीँ जलवाष्पसहितको वायुसमेत भित्रने गर्छ। र, मनग्गे वर्षा हुन्छ।
गत चैत २६ गतेदेखि पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भयो। बंगालको खाडी हुँदै जलवाष्प बोकेको वायु पनि आयो। यी दुई प्रणाली देशभर सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिमसम्मै मध्यम वर्षा भयो।चैत मसान्तसम्मको तथ्यांक हेर्दा प्रि–मनसुन सुरू भएयता ५५.५० मिलिमिटर वर्षा भएको छ। यो भनेको औसत वर्षाको २४.२ प्रतिशत हो।
यस वर्षको प्रि–मनसुनको सुरूआतमा औसतभन्दा बढी वर्षा भएको देखिएको छ। २५ फागुनदेखि औसतभन्दा कम वर्षा भएको थियो। १० चैतदेखि २६ चैतसम्म औसतभन्दा निकै कम वर्षा भएको थियो भने चैत २६ देखि ३१ गतेसम्म औसतभन्दा माथि वर्षा भएको छ।
थर्ड पोल 