स्टुडिओमा बढ्न थाल्यो तीज विशेष गीत रेकर्डिङको चहलपहल

स्टुडिओमा बढ्न थाल्यो तीज विशेष गीत रेकर्डिङको चहलपहल

स्टुडिओमा तीज गीत रेकर्ड गराउनेको चहलपहल बढ्न थालेको छ। गायक–गायिकाले तीज विशेष गीतको रेकर्डिङ थालेका हुन्।

स्टुडिओ खिचाएका तस्बिरहरू सामाजिक सञ्जालमा राख्दै उनीहरूले तीज गीत गाउन सुरू भएको जानकारी दिएका छन्।

गायिका शान्तिश्री परियारले गत बुधबार आफूले तीनवटा गीत रेकर्ड गराएकोमा दुईवटा तीज विशेष गीत रहेको बताइन्। 

अर्की गायिका देवी घर्तीले पनि तीज गीतको रेकर्डिङ सुरू भएको जानकारी दिएकी छन्।

पशुपति शर्मा, खुमन अधिकारी , सम्झना भण्डारी लगायतले पनि तीज गीत रेकर्डिङ थालेका छन्। कतिपय कलाकारहरूले म्युजिक भिडिओको छायांकन समेत सुरू गरेका छन्। 

निर्देशक स्मृति तिमिल्सिनाले तीज गीतको भिडिओको छायांकन थालेको जनाइन्। तीज गीत विशेषगरी लोक तथा दोहोरी कलाकारले बढी ल्याउने गरेका छन्। तीजमा विदेशका कार्यक्रममा जानुपर्ने भएकाले पनि दुई महिना अघिदेखि रेकर्डिङ थाल्ने गरेका छन्। हरेक वर्ष दर्जनौं तीज गीत आउने गरेका छन्। 

तीज गीतमा चलेका गायक/गायिकाको पहिलो रोजाइ विदेश हुने गरेका छ। जहाँ दुई/तीन महिना अघिदेखि नै कार्यक्रम फाइनल गरेर कलाकार तय गरिन्छ। यसपालि पनि थुप्रै गायक–गायिकाले तीजको कार्यक्रम तय गर्न थालिसकेका छन्।

अहिले बिरामी परेर उपचार गराइरहेकी गायिका रचना रिमालको तीजमा युरोप टुर हुने केही साताअघि नै तय भइसकेको छ।