सुरक्षा अवस्थाको विश्लेषण गर्न बालुवाटारमा उच्चस्तरीय बैठक
प्रधानमन्त्री सुशिला कार्कीले गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन्। वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो सुझाव र प्रतिवेदन पेश गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने जानकारी आएको बताए। ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।’ उनले भने, राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’
थर्ड पोल 