संसद्को रोष्ट्रममा एकीकृत समाजवादीका सांसद आलेले अश्लील शब्द बोले
काठमाडौँ — एकीकृत समाजवादीका सांसद प्रेम आलेले संसद्को रोष्ट्रममा अश्लील शब्द बोलेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पार्टीको दबाबमा नियुक्त गर्नुपरेको बताउँदा अश्लील शब्द प्रयोग गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद आलेले अश्लील शब्दको उच्चारण गरेका हुन्। पार्टीको दबाबमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेको बेला जुनियर पदमा रहेका अधिकारीलाई महानिर्देशक बनाउनुपरेको उनको भनाइ थियो।
'माननीय अमरेशकुमार सिंहले पनि भन्नुभयो, जुनियर मान्छेलाई ल्याएर डीजी बनाइयो, मेरै पालामा बनेको हो। तर निधारमा लेखेको हुँदैन कि यो चोर हो कि साधु हो भनेर थाहा त हुँदैन,' त्यो बेलामा मैले धेरै पटक भनेको हो, जुनियर मान्छेलाई नबनाऊ, नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो (अश्लील शब्द) डीजी बनाइयो।'
उनको बोलीलाई सभाको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले रोक्दिनन्। कुनै सांसदले पनि आपत्ति जनाउँदैनन्। सामान्यतः यस्ता शब्द बोल्दा दलका प्रमुख सचेतक वा सचेतक, सांसदले आपत्ति जनाउने अभ्यास छ।
कसैले नरोकेपछि आले आफ्ना धारणा राखिसक्छन्। त्यसपछि कांग्रेस सांसद नागिना यादव र विराजभक्त श्रेष्ठलगायत बोल्छन्। उनीहरू पनि कुनै आपत्ति जनाउँदैनन्।
थर्ड पोल 