११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, पाँचजना पक्राउ

११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या, पाँचजना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।  भोटेकोशी गाउँपालिका–५ की ती बालिका माथि सामूहिक बलात्कारपछि हत्या भएको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बालिकामाथि बलात्कारपछि हत्या गरेका पाँच जना आरोपीलाई आज सार्वजनिक गरेको हो।

असार ११ गते बिहान साढे ९ बजेतिर भोटेकोशी गाउँपालिका–५ छ्याङ्दीको एक जंगलमा ११ वर्षीया बालिका मृत फेला परेकी थिइन्।उनको बलात्कारपछि हत्या आरोपमा प्रहरीले भोटेकोशीकै २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरेको हो।

कोलगाउँ बस्ने ती बालिकाको शव घरदेखि अन्दाजी ४ सय मिटर पर रहेको बारीमा फेला परेको थियो। शव फेला परेपछि एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरीको टोली खटिएको थियो। 

प्रहरीले घटनास्थलमा निरीक्षण, सबुत संकलन, सोधपुछ र तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरेको थियो।अनुसन्धानबाट पाँच जना आरोपी रहेको खुलेको हो। प्रहरीले आरोपीको घरबाट प्रमाण फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपेको छ।