बहिनी जिस्क्याएको निहुँमा ललितपुरमा युवकले गरे साथीको हत्या
ललितपुरको इमाडोलमा एक जनाले साथीको हत्या गरेका छ्न।
महालक्ष्मी नगरपालिका-४ ओचु हाइटमा रहेको मन्दिर अगाडि बुधबार राति एक पुरूषको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
हत्या भएका व्यक्ति रामेछाप घर भई ओचुहाइट बस्ने ३० वर्षीय दिपक खाती रहेको एसएसपी अधिकारीले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने २५ वर्षीय सुमन रसाइलीलाई पक्राउ गरेको छ।
खातीमाथि खुकुरी प्रहार भएको हो।
गएराति करिब पौने १ बजेतिर हत्या भएको खबर पाएपछि परिसर र प्रहरी वृत्त सातदोबाटोको टोली खटिएको थियो।
प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ।
दिपक पनि रामेछापकै हुन्। दुई जनाबीच पुरानो चिनजान पनि थियो। दिपककी अन्दाजी १५ वर्षकी बहिनी पनि छिन्।
बहिनीलाई खातीले जिस्क्याउने गरेको प्रारम्भिक बयानमा बताएका छन्।
‘बहिनीलाई जिस्क्याएको भन्ने कारण देखिन्छ। पहिले पनि जिस्क्याएको रहेछ। त्यतिबेला पनि सम्झाइबुझाइ गरेको भनेका रहेछन्,’ एसएसपी अधिकारीले भने।
आफूलाई फेरि जिस्क्याएको भनेर बहिनीले सुमनलाई बुधबार सुनाएकी थिइन्। त्यसपछि उनले दिपकलाई राति नै मन्दिरमा बोलाएका थिए। चिनजानकै भएकाले दिपक पनि मन्दिरमा आएका थिए।
मन्दिरमा आएपछि उनीमाथि सुमनले खुकुरी प्रहार गरी हत्या गरेको एसएसपी अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
थर्ड पोल 